रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक

रासस

शनिबार, १२ साउन २०७५, ०९ : ३४
रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक

रसुवा । टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे– घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की पुलको टेको ठाडो खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति पु¥याएकाले जोखिम न्यूनीकरण गर्न मालवाहक ठूला सवारीसाधन आवातजावतमा शुक्रबार अपराह्नदेखि रोक लगाइएको हो ।
हल्का सवारीसाधनलाई भने आवातजावतमा खुला गरिएको बताइएको छ । दैनिक रु एक करोडभन्दा बढी राजश्व आर्जन हुने नेपालको उत्तरी नाकाबाट सामानआयात निर्यात गराउने पुल जोखिममा परेपछि केरुङतर्फ गएका सयाँै ट्रक कन्टेनर केरुङमा अलपत्र परेका छन् । चर्को पार्किङ शुल्कले व्यवसायीलाई मर्का परेको कन्टेनर संघले जनाएको छ । दायाँबायाँबाट वैकल्पिक सडक खोल्ने स्थानसमेत नभएको प्रहरीले जनाएको छ ।

यस्तै बुधबार गएको पहिराले अवरुद्ध टिमुरे नजीकको राजमार्ग भने शुक्रबारदेखि सञ्चालनमा आएको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ । यसैगरी पहिरामा परी मृत्यु हुनेको दाहसंस्कारका लागि नौवटै शव आफन्तजनलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले बताउनुभयो । स्याफ्रु–रसुवागढी खण्डको सडकमा मोटर विश्राम नगर्न अगुवा सवारी चालकले सुझावसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस