३४ स्वास्थ्यकर्मी महिलालाई साइकल

रासस

शनिबार, १२ साउन २०७५, ०९ : २७
३४ स्वास्थ्यकर्मी महिलालाई साइकल

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले ३४ स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेविकालाई शुक्रबार साइकल प्रदान गरेको छ ।

यससँगै १८ वटै स्थानीय तहमध्ये सप्तरीमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने विष्णुपुर पहिलो गाउँपालिका बनेको गाउँपालिका उपाध्यक्ष जनजीरादेवी यादवले जानकारी दिनुभयो । यसबाट सो गाउँपालिकामा रहेका सात वटै स्वास्थ्यचौकीबाट दिइने स्वास्थ्य सेवा अझ प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले बताउनुभयो ।
प्रशासकीय अधिकृत रञ्जीतजंग अधिकारीले आवश्यक बजेट अभाव भए पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्य शीर्षकबाट पनि केही केही बजेट कटौती गरी साइकल खरीद गरिएको बताउनुभयो । स्वास्थ्य स्वयंसेविका अरुलादेवी यादवले अब स्वास्थ्यचौकी र वडा कार्यालयसम्म पुग्न निकै सजिलो हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस