फुटबल धरासायी हुने स्थिति आयो : १० ए डिभिजन क्लब

सफल खबर संवाददाता

शुक्रबार, १२ जेठ २०८०, १६ : ०२
फुटबल धरासायी हुने स्थिति आयो : १० ए डिभिजन क्लब

काठमाडौं  ।  नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका क्लबहरूको समस्यामा वेवास्ता गरेको बताएका छन्। 

फागुन २९ गतेदेखि सुरु भएको शीर्ष श्रेणीको लिगमा सहभागी १३ मध्ये १० क्लबले संयुक्त पत्रकार सम्मेलन गर्दै तयारी खर्चको दोस्रो किस्ता समेत नपाएको बरू खेलाडीलाई समेत मारमा पारेको बताएका छन्। 

जारी लिगमा सहभागी क्बलहरू मछिन्द्र फुटबल क्लबका सचिव किरण महर्जन, एफसी खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङ मरस्याङ्दी क्लबका अध्यक्ष विजय घले, संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर, हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा, एनआरटीका महासचिव नरेन्द्रमान श्रेष्ठ, फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम साह, सातदोबाटो युथ क्लबका अध्यक्ष कपील राना मगर, चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र थ्री स्टार क्लबका देवेन्द्रलाल श्रेष्ठले संयुक्त पत्रकार सम्मेलन गर्दै एन्फाको ध्यानाकर्षण गराएका हुन्।

‘हामी सम्पूर्ण सहभागी क्लबहरूलाई लिग सुरु हुनुअघि १५ लाख, १३औं चरण सकिएपछि १० लाख र लिग सकिएपछि साढे सात लाख दिनुपर्ने हो,’ एन्फाका निवर्तमान महासचिव समेत रहेका संकटाका अध्यक्ष तुलाधरले भने, ‘हामीले तीन किस्तामा पाउनु पर्ने ३२ लाख ५० हजारमध्ये एक किस्ता पाएको हो। त्यसपछि केही छैन।’

खेल तालिकामा एन्फाले हेल्चेक्र्याईँ गरेको र फुटबलको हित हुने गरी खेलसमय मिलाउन पटक–पटक आह्वान गर्दा पनि बेवास्ता गरेको उनको दाबी थियो।‘दोस्रो किस्तान १३औं चरणपछि दिन्छौं भनेको थियो, त्यो पनि आएको छैन,’ तुलाधरले भने, ‘हामीले पटक–पटक ज्ञापन पत्र बुझाउँदा पनि एन्फाले वास्ता गरेन। मैले कोषाध्यषसँग बुझ्दा त्यसको तयारी नै छैन।’

बजारमा क्लबहरूले फिफा र एएफसीको पैसा क्लबले मागेको भन्ने हल्ला चलेको तर, ए डिभिजन क्लबहरूले लिगबापत आएको पैसा मागेको बताए।‘एन्फा र फिफाको पैसा हामीले मागेको होइन, प्रायोजन, गेट कलेक्स, टिभि प्रायोजनबाट आएको पैसा मागेको हो। किनभने, त्यो हामीले खेलेर ल्याएको पैसा हो,’ उनले भने।

‘१३औं चरणसम्मको म्याच मनी दिनुहोस् भनेर भनेका हौं, त्यो पनि दिएको छैन, खेलाडीले म्यान अफ दी म्याचको पैसासमेत पाएका छैनन्,’ अध्यक्ष तुलाधरले भने, ‘हाम्रो कार्यकालमा म्याच बल ३० वटा दिने गरेका थियौं, अहिले एन्फाले म्याच बल पनि दिन सकिरहेको छैन।’

‘यू २३ टिमको टिम दर्ता गर्न बिसिएको हो’ एन्फाले यू २३ एसियन कप छनोटमा टिम दर्ता गर्न बिर्सिएर बजेट नभएको बहाना बनाएको पूर्व महासविच तुलाधरले बताए।‘यू २३ को टिम इन्ट्री गर्न बिर्सिनु भएको हुनुपर्छ, ३ लाख डलर पहिलेको पनि बाँकी नै छ। ट्राभलको पाँच लाख भनेको करिब ६ करोड नेपाली रुपैयाँ हो,’ उनले भने, ‘त्यसैले त्यो उहाँहरूले इन्ट्री गर्न भुल्नु भएको हो। राष्ट्रिय टिमको ब्याकअपको रूपमा रहेको उमेर समूहको प्रतियोगिता नगर्ने, महिला लिग, ललित स्मृति केही नगर्ने, हामीलाई पैसा नदिने केही नगर्ने भएपछि दुई पटक उहाँहरूलाई ज्ञापन पत्र बुझाएका थियौं।’

एन्फाले बजेट अभावका कारण यू २३ एसियन कप छनोटमा सहभागी नहुने बताएको हो।

प्रतिक्रिया दिनुहोस