वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, ११ : १८
वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गरेको महानगरपालिकाले सो कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि ग्रामीण क्षेत्रका वडामा बर्थिङ सेन्टर विस्तारसँगै विशेषज्ञ चिकित्सकसहितको बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

कार्यक्रमलाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि बर्थिङ सेन्टरमा नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वाथ्य अधिकृत रितेश जयसवालले जानकारी दिए ।अहिले महानगरको थप चार वडामा बर्थिङ सेन्टरबाट विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग सेवा सञ्चालन गरिने छ । अर्को वर्ष पुनः अन्य स्थानमा स्थापना भएका बर्थिङ सेन्टरबाट सेवा सञ्चालन गरिने जयसवालले बताए ।

हाल महानगरको वडा नम्बर २८ बबै र वडा नम्बर २१ लिपनी विर्तामा बर्थिङ सेन्टर सञ्चालनमा छ । चालु आर्थिक वर्ष २०७९/८० मै महानगरपालिकाले वडा १८ भवानीपुर, वडा नम्बर १९ को बिन्दवासनी, वडा नम्बर २० को हरपतगज र वडा नम्बर ३० को लालपर्सामा बर्थिङ सेन्टर स्थापना गरी विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए ।यसका लागि पाँच विशेषज्ञ चिकित्सक, १० नर्स र पाँच ल्याब टेक्निसियनको छनोट प्रक्रिया अन्तिम चरणमा छ । सो कार्य सम्पन्न भएपछि बर्थिङ सेन्टरबाटै बहिरङ्ग सेवा र ल्याब सेवा सञ्चालन गरिने जयसवाल बताउछन् ।

प्रतिक्रिया दिनुहोस