खाँटी भुटानी शरणार्थीको गुनासो: परिचयपत्र नवीकरण हुन सकेन, सरकारलाई ४ बुँदे ध्यानाकर्षण

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, १४ : २८
खाँटी भुटानी शरणार्थीको गुनासो: परिचयपत्र नवीकरण हुन सकेन, सरकारलाई ४ बुँदे ध्यानाकर्षण

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यहरू पक्राउ परिरहँदा खाँटी भुटानी शरणार्थीहरूले भने आफूहरू सबैको परिचयपत्र आठ महिनादेखि नवीकरण हुन नसकेको गुनासो गरेका छन् । 

भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राईले सोमबार जारी गरेको विज्ञप्तिमा यो प्रकरणले नेपालस्थित भुटानी शरणार्थी शिविरमा भुटानीहरु नभएको भुटान सरकारको आरोपलाई बल पुगेको उल्लेख छ । जसका कारण खाँटी भुटानी शरणार्थीलाई गम्भीर असर पुऱ्याएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्टपूर्ण जीवन बिताइरहेका ६,५०० भुटानी शरणार्थीहरू र खाट्टी तर पञ्जीकृत हुन बाँकी भुटानीहरूको हितलाई ध्यानमा राखी नेपाल सरकारलाई ४ बुँदे ध्यानाकर्षण गराइएको छ । 

जसमा शरणार्थी परिचयपत्र नवीकरण गरेको ८ महिनाभन्दा बढी भइसक्दा पनि सबैले नयाँ परिचयपत्र नपाएको उल्लेख छ । ‘नवीकरण भएको परिचय पत्र वितरणमा चरम ढिलासुस्ती गरिएकोले खाँटी भुटानीहरू परिचयविहीन हुने अवस्था सिर्जना भएको छ । सम्बन्धित निकायको यस्तो कार्यले गैर भुटानीलाई भुटानी र खाँटी भुटानीलाई गैर भुटानी बनाउन सक्ने गम्भीर आशङ्का पैदा गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।  तसर्थ नवीकरण भएर पनि रोक्का गरिएको शरणार्थी परिचय पत्र अविलम्ब वितरण गर्न माग गरिएको छ । 

भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि पहल गर्न, निष्पक्ष र स्वतन्त्र आयोग गठन गरी विभिन्न कारणले पञ्जीकरणबाट छुटेका भुटानीहरूलाई शरणार्थीको दर्जा प्रदान गर्न पनि माग गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस