चितवनमा तीनपांग्रे चालकहरुको आन्दोलन स्थगित

सूर्यप्रकाश कँडेल

बुधबार, ०९ साउन २०७५, २० : १०
चितवनमा तीनपांग्रे चालकहरुको आन्दोलन स्थगित

चितवन । भरतपुर महानगरपालिकाले राजमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडकखण्डमा ईरिक्सा, अटो, टेम्पो लगायतका तीनपांग्रे सवारी साधन चलाउन नपाउने भनी गरेको निर्णयविरुद्ध बुधबार आन्दोलनमा उत्रिएका तीनपांग्रे चालकहरुको आन्दोलन स्थगित भएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा बुधबार राति सम्पन्न सरोकारवालाको बैठकले आन्दोलन स्थगित गर्ने, महानगरले निर्धारण गरेको पुरानै रुट अनुसार यातायात संचालन गर्ने, घाइते महेन्द्र सुनारको उपचार महानगर र जिल्ला प्रशासनको समन्वयमा गर्ने एवं तीनपांग्रे सवारी संचालन कार्यलाई व्यवस्थित गर्न कार्यदल गठन गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।
समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा सहमति भएको नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष हरीहर सापकोटाले जानकारी दिनु भयो । सापकोटाका अनुसार कार्यदलमा तीनवटा ट्रेड युनियन, जिल्ला प्रशासन, भरतपुर महानगरपालिका रहेका छन् । कार्यदलले थप रुट व्यवस्थापन र देखिएका समस्या समाधानका लागि पहल गर्नेछ । 


 

प्रतिक्रिया दिनुहोस