काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायांकन गन्तव्य बन्न सक्ने बताएका छन्। नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) ले काठमाडौँमा आयोजना गरेको ‘नेफ्टा चलचित्र अवार्ड-२०२३’ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक कार्यक्रममा चलचित्रकर्मीलाई प्रमाणपत्र वितरण गर्दै उपराष्ट्रपति यादवले नेपालको प्रचार गर्न कलाकर्मीलाई आग्रह गरे ।
‘विदेशी चलचित्रलाई यहाँको प्राकृतिक सुन्दरताले आकर्षित गर्छ । हामीले एकजुट हुँदै सहकार्य गरेर नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको छायांकन गन्तव्य बनाउन सक्छौँ”, उनले भने, “नेपाली चलचित्र अहिले विश्वभर खोजिएको सुन्दा र देख्दा खुसी लाग्छ । विदेशी बजारमा बलियो बन्न प्रवर्द्धन गर्नु जरुरी छ ।’
उनले नेपाली चलचित्रलाई छ दशक लामो यात्रामा पर्दा पछाडि रहेर सघाएका प्राविधिकहरूको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए। ‘चलचित्रले मनोरञ्जन प्रदान गर्नेमात्र नभई हाम्रो मौलिक भाषा, वेशभूषा, संस्कृति, इतिहासको संरक्षण र संवर्द्धन पनि गरिरहेको छ । यो सिर्जनशील कलाकर्मीको मेहनत र लगावको प्रतिफल हो’, उपराष्ट्रपति यादवले भने ।
कार्यक्रममा उत्कृष्ट पाँचको घोषणासँगै प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार नीर शाह, रमेश उप्रेती, भुवन चन्द, चैत्य देवी, वसुन्धरा भुसाल, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, निर्देशक हेमराज बिसी, निर्माता मणिराम पोखरेललगायतको उपस्थिति थियो ।
नेपाली चलचित्रमा प्राविधिकका रूपमा कार्यरतहरूको छाता संगठनले आयोजना गरेको कार्यक्रममा उपस्थित सम्पूर्णलाई नेफ्टा अध्यक्ष पुष्कर लामाले धन्यवाद दिए। ‘हामीले गरेको प्रयासमा सधैँ चलचित्रकर्मीको साथ पाएका छौँ । सोही कारण हामी अवार्ड गर्न सक्षम भएका हौँ । निष्पक्षरूपमा अवार्ड सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, अध्यक्ष लामाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक’ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवसँग साउदी अरेबियाका राजदूत मनिकरको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट
ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव
‘महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ’ : उपराष्ट्रपति यादव
निर्वाचनले गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने उपराष्ट्रपति यादवको विश्वास