डढेलो र आगलागीका घटना बढ्दै

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, १० : ५६
डढेलो र आगलागीका घटना बढ्दै

काठमाडौँ । आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४  वन डढेलोका घटना घटेका छन् ।प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर पाँच जनाले ज्यान गुमाएका थिए   भने ६५ जना घाइते भएका छन् । गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका र एक महिनामा आगलागी र वन डढेलोका छ सय २१  घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले जानकारी दिए ।

 

आगो तथा डढेलो लागेको देख्नेबित्तिकै पूर्वतयारी बिना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिममा पर्ने भएकाले आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायबिना त्यस्तो ठाउँमा नजान उनले आग्रह गरे । यसैगरी जङ्गलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिने भएकाले सोको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठुटा जथाभावी नफाल्न, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिन पनि प्राधिकरणको समुदायलाई आग्रह छ ।

प्रतिक्रिया दिनुहोस