धरान उपमहानगरपालिका मेयर साम्पाङको विरोधमा उत्रिए सुनसरीका पत्रकार

सफल खबर संवाददाता

शुक्रबार, २९ बैशाख २०८०, १६ : ४९
धरान उपमहानगरपालिका मेयर साम्पाङको विरोधमा उत्रिए सुनसरीका पत्रकार

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । मेयर साम्पाङको अभिव्यक्ति र व्यवहारले आफूहरू असुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।शुक्रबार महासंघले मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत पत्रकारहरुको बिरोध गर्न आफ्ना समर्थकहरुलाई उक्साएको आरोप लगाउँदै आफूहरूको सुरक्षा गर्न माग गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएको छ ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर मेयर साम्पाङबाट आफूहरूको सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।सामाजिक सञ्जालमा समेत मेयर साङपाङले आफूहरू विरुद्ध आफ्ना सकर्थकहरुलाई परिचालन गर्ने प्रयास गरेकाले सुरक्षाका लागि आफूहरूले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनु परेको महासंघका अध्यक्ष जनकऋषि राईले बताए । उनले भने, ‘फेसबुकबाट व्यक्त गर्ने विचारहरूले हामीप्रति उहाँले आफ्ना कार्यकर्ताहरूलाई उक्साई रहेको छ भन्ने हाम्रो ठम्याई हो । त्यो कारणले हामी यहाँ असुरक्षित छौँ ।

यो असुरक्षालाई तपाईँहरूको तर्फबाट सम्बोधन गरिनु पर्छ । हामी असुरक्षित भयौँ । त्यही कारणले हामीले सुनसरीका धरान कार्यक्षेत्र बनाएका साथीहरूलाई आफू सुरक्षित रहेर मात्रै पत्रकारिता गर्नु होला भनेर हामीले हिजोको बैठकबाट अनुरोध पनि गरेका छौँ ।मेयर साम्पाङ विरुद्धको पत्रकार महासंघ सुनसरीको आन्दोलनलाई पत्रकार महासंघ मोरङ र कोशी प्रदेश समिति समेतले ऐक्यबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस