सत्ता गठबन्धनको बैठकमा विधेयकका प्राथमिकताका बारेमा छलफल

सफल खबर संवाददाता

शनिबार, २३ बैशाख २०८०, १९ : २९
सत्ता गठबन्धनको बैठकमा विधेयकका प्राथमिकताका बारेमा छलफल

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा संघीय संसद्को बैठकलाई कसरी प्रभावकारी बनाउनेबारे छलफल भएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आइतबार बस्ने बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताका बारेमा प्रस्तुत गर्ने विषयमा नेताहरुबीच छलफल भएको छ ।

बैठकमा संसदमा आइतबार प्रस्तुत हुने आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनले निजामती ऐन, संघीय शिक्षा ऐनका बारेमा पनि छलफल भएको बताए ।

प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको बताए । बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको उनले बताए ।  

'बैठकमा प्रधानमन्त्रीज्यूले आफूले विश्वासको मत लिने बेलामा विभिन्न विधेयकहरूका प्राथमिकताका बारेमा कुरा गर्नुभएको छ । त्यसमध्ये नागरिकता विधेयकलाई कसरी व्यवस्थित गर्ने, संघीय शिक्षा ऐन कसरी अघि बढाउने, निजामती विधेयकलाई कसरी अघि बढाउने र समिति पनि बनाउने भन्ने विषयमा छलफल भयो,' पाण्डेले भने ।

यस्तै बैठकमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश कसरी नियुक्तिको समस्या हल गर्ने भन्ने विषयमा पनि छलफल भएको छ । यस विषयमा गठबन्धनका नेताहरूले वरिष्ठ कानुन विज्ञहरुसँग छलफल गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस