व्यवसायी कँडेल मृत्यु प्रकरण : चितवनमा चक्काजाम, प्रदर्शनकारीले गरे कांग्रेस सभापति खनालको आलोचना

सफल खबर संवाददाता

शनिबार, २३ बैशाख २०८०, १६ : ३०
व्यवसायी कँडेल मृत्यु प्रकरण : चितवनमा चक्काजाम, प्रदर्शनकारीले गरे कांग्रेस सभापति खनालको आलोचना

चितवन । नेपाली कांग्रेसका नेता तथा पोल्ट्री व्यवसायी शंकर कँडेलको न्यायको लागि भन्दै चितवनमा शनिबार चक्काजाम गरी प्रर्दशन भएको छ ।व्यवसायी कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति पक्राउ गर्न माग गर्दै नेपाली कांग्रेसले भरतपुरको केन्द्रीय बसपार्कचोकमा प्रर्दशन गरेको हो ।कांग्रेस चितवनले दोषीलाई पक्राउ गर्न दबाबको लागि दिउँसो एक बजेदेखि दुई बजेसम्म एक घण्टा चक्काजाम गरेका छन् ।

प्रदर्शनकारीले न्यायको लागि कांग्रेस चितवनले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सभापति राजेश्वर खनालको आलोचना गरेका छन् । सभापति खनाल प्रदर्शन स्थलमा पुग्दा एकछिन धकेलाधकेल पनि भएको छ । खनालले आफू शंकर कँडेलको न्यायको लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर चितवन आएको पनि बताएका    थिए ।शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दका कारण राजमार्गमा सवारी साधन चलेका छैनन् । प्रर्दशनमा उत्रिएका कांग्रेसका नेता तथा कार्यकर्ताहरुले कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति पक्राउ गर्न माग गरेका छन् ।

नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले चितवन बन्दको आह्वान नगरिएको बताएका थिए । कांग्रेस र कांग्रेस निकटका कुनै पनि संगठनले चितवन बन्दको आह्वान नगरेको भन्ने जानकारी गराएकोले पनि प्रदर्शनकारीहरु कांग्रेस चितवनप्रति आक्रोशित भएका हुन् । कांग्रेसले बन्दमा समर्थन नगरेर दोहोरो चरित्र खेलेको कतिपयको आरोप छ । उनीहरुले शंकर कँडेल प्रकरणमा राजनीति नगर्न पनि चितवन कांग्रेसलाई चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस