चितवनमा बन्दको प्रभाव, लामो तथा छोटो दुरीका गाडी ठप्प

सफल खबर संवाददाता

शनिबार, २३ बैशाख २०८०, ११ : ३५
चितवनमा बन्दको प्रभाव, लामो तथा छोटो दुरीका गाडी ठप्प

चितवन । शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दको प्रभाव यातायात क्षेत्रमा परेको छ । बन्दका कारण लामो दुरीका गाडी सञ्चालन हुन सकेका छैनन् । छोटो दुरीका गाडी पनि सहज रुपमा चल्न सकेका छैनन् । बन्दकर्ताले पुलचोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा जम्मा भएर गाडी चलाउन रोकेका छन् ।

मोटरसाइकलमा हिँडेका बन्दकर्ताले जिल्लाको विभिन्न स्थानमा पुगेर बन्द गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङले बताए । ‘लामो दुरीका गाडीहरु ठाउँ–ठाउँमा रोकिएका छन् । बन्दकर्ताहरु एकै ठाउँमा बसेका छैनन्’, उनले भने, ‘मुग्लिनमा गाडीको लामो लाइन लागेको छ ।’

दिउँसो १० बजेसम्म बन्दकर्ताले कुनै गाडीमा तोडफोड भने नगरेको उनले बताए । उनका अनुसार बन्दकर्ता पनि पक्राउ परेका छैनन् । व्यवसायी कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै संघर्ष समितिले आज चितवन बन्दको आह्वान गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस