विश्वविद्यालयमा विद्यार्थी र शिक्षकले बढी राजनीति गरे : शिक्षामन्त्री राई

सफल खबर संवाददाता

शुक्रबार, २२ बैशाख २०८०, १९ : ३७
विश्वविद्यालयमा विद्यार्थी र शिक्षकले बढी राजनीति गरे : शिक्षामन्त्री राई

विराटनगर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विश्वविद्यालयहरूलाई बढी राजनीतिकरण गरिएको बताएका छन् । राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको भन्दै मन्त्री राईले भागबण्डाले विश्वविद्यालयमा विकृति आएको बताए । 

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा शुक्रबार आयोजित सात सय ५० सिट क्षमताको सभाहल शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले विश्वविद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले बढी राजनीति गर्दा विश्वविद्यालयलाई घाटा भइरहेको बताए । 

अन्य देशमा राजनीतिक व्यक्तिलाई विश्वविद्यालयको पदाधिकारी बनाउने परिपाटी नरहेको उल्लेख गर्दै मन्त्री राईले नेपालमा पनि यसलाई बिस्तारै कम गर्दै लैजाने बताए । आफू मन्त्री बनेको एक महिनाको अवधिमा शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरी सुधार गर्नुपर्ने धेरै कुराहरूको विषयमा जानकारी लिएको उनले बताए । 

अहिले पनि शिक्षा क्षेत्र सुधारका लागि कतिपय ऐन कानुन बन्न नसकेकाले आउँदो अधिवेशनमा रोकिएका ऐनलाई पेश गर्ने मन्त्री राईले जानकारी दिए । विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको छलफलमा धेरै विश्वविद्यालयमा समस्याको चांङ रहेको तर पूर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले समस्या भन्दापनि धेरै उपलब्धि हासिल गरेको आफूले पाएको उनले बताए । 

विश्वविद्यालयहरुले सधैँ अनुदानको भरमा चल्नेभन्दा पनि आत्मनिर्भर बन्ने चेष्टा गर्नुपर्ने मन्त्री राईको सुझाव छ । उच्च शिक्षाको लागि विदेशीने प्रवृत्तिको अन्त्य गर्न विदेश उत्तम स्वदेश खत्तम भन्ने सोचलाई बदल्न विश्वविद्यालयहरुले समय सापेक्ष गुणस्तरिय शिक्षाको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए । २३ वर्षदेखि शिक्षक दरबन्दी मिलान गर्न नसकिएको जनाउँदै बालकक्षा, राहत र करार शिक्षकको समेत समस्या कायमै रहेको मन्त्री राईले बताए । 

प्रतिक्रिया दिनुहोस