बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना असीमित रहेको बताएका छन् । २५६७औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको बताए ।
लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामलाई समेटेर वृहत्तर लुम्बिनीको रुपमा विकास गरिने उल्लेख गर्दै प्रधानमन्त्रीले तिलौराकोट पनि विश्व सम्पदा सूचीमा सुचीकृत हुने क्रममा रहेको बताए ।
क्रान्ति र शान्ति एक अर्काका पूरक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तर यसलाई बुझ्ने र ग्रहण गर्नेमा एकरुपता हुन नसकेको बताए ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारका कसैले पनि लुम्बिनीको फोटोकपी गर्न नसक्ने बताए ।
उनले प्रधानमन्त्री प्रचण्डसँग क्रान्ति र शान्तिको नेतृत्व गर्ने जिम्मेवारी रहेको मन्त्री किरातीले बताए । लुम्बिनी विकास कोषमा अनेकौं विकृति विसंगती रहेको भन्दै उनले विकृति हटाउने बताए ।
उनले जेठ १६ गतदेखि नेपाल वायुसेवा निगमका जहाज गौतमबुद्ध विमानस्थलबाट चल्ने बताए ।कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट बनाउने अवधारणा आए पनि अघि बढ्न नसकेकाले अघि बढाउनुपर्ने बताएका छन् ।
२५६७औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले बुद्ध सर्किट निर्माणपछि संसारभरका बौद्धमार्गीलाई आकषिर्त गर्न सकिने र यसबाटै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।
बुद्ध सर्किटमा बौद्ध ध्यान केन्द्रहरु निर्माण र हरेक महिना पुजा, अनुष्ठानको माध्यमबाट संसारको ध्यान केन्द्रित गर्न सकिने बताए । मुख्यमन्त्री चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरे ।
लुम्बिनीको धार्मिक पर्यटनबाट देशको आर्थिक विकासमा कायापलट गर्न सकिने औंल्याउँदै मुख्यमन्त्री चौधरीले लुम्बिनी विकास कोषको विनियमावली र विधान संशोधन गरी प्रदेश र स्थानीय सरकारले पनि अपनत्व ग्रहण गर्न सक्ने बनाउनुपर्ने आवश्यकता औंल्याए ।
केन्जो टांगेले ४६ वर्ष अघि बनाएको गुरुयोजना सकिने चरणमा रहेकाले अब लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किटको गुरुयोजना बनाउनुपर्ने बताए ।लुम्बिनी विकास कोषले अहिले स्थानीयलाई जोड्न नसकेको भन्दै मुख्यमन्त्रीले पर्यटकको बसाइ लम्बाउन सरोकारवाला सबैसँग सहकार्य गरेर नीति बनाउन आवश्यक रहेको बताए ।
कोषका उपाध्यक्ष अवधेश त्रिपाठी लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किट बनाएर एकीकृत पर्यटन विकास गर्नुपर्ने बताए । उनले विश्वभरका करिब चार अर्ब बौद्ध धर्मावलम्बी रहेका उल्लेख गर्दै उनीहरुलाई बुद्ध सर्किटमा आकर्षित गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ बैशाख २०८०, ११ : ३३
लेखकबाट थप