उच्च अदालतमा भर्चुअल विधिबाट बहस प्रभावकारी बन्दै

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, ११ : ४२
उच्च अदालतमा भर्चुअल विधिबाट बहस प्रभावकारी बन्दै

डोटी । उच्च अदालत दिपायलले सञ्चालन गरेको श्रव्यदृष्य (भर्चुअल) विधिममार्फतको बहस प्रभावकारी बन्दै गएको छ ।उच्च अदालतका इजलास अधिकृत बसन्त पाध्यायले दिएको जानकारी अनुसार २०७८ साल चैत्र ८ गते सुरु भएको भर्चुअल विधिबाट गत चैत्रसम्म तीन सय मुद्दामा बहस भएको छ । उनले २३ वटा मुद्दामा बकपत्र समेत भर्चुअल विधिबाटै गराइएको जानकारी दिए । भर्चुअल बहसका लागि ३५० जनाले निवेदन दिएका थिए ।

 

भर्चुअल विधिबाट बहस गर्दा मुद्दाका पक्षहरुलाई समय र स्रोतका हिसाबले कम खर्चिलो हुने गरेको उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला बताउँछन् । ‘बाहिर जिल्लाबाट बहसका लागि आउनु पर्‍यो, आउन जान समय पनि खर्च हुन्छ, खान बस्न पनि खर्च लाग्छ’ मुख्य न्यायाधीश निरौलाले भने, ‘त्यसैले भर्चुअल विधि प्रभावकारी बन्दै गएको छ ।

निरौलाले सुरुमा कैलालीबाट मात्रै भर्चुअल बहस गर्न सकिने गरि प्रविधिको जडान भएको भए पनि हाल उच्च अदालतको क्षेत्राधिकारभित्र पर्ने अछाम, बाजुरा र बझाङमा पनि भर्चुअल विधि जडान गरिएको वताए । मुख्य न्यायाधीश निरौलाले भने, ‘प्रविधिको प्रयोगमा उच्च अदालत दिपायल अन्य अदालत भन्दा अगाडि रहेको छ ।’न्यायमा सहज पहुँच पुर्‍याउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा उक्त प्रविधिबाट सुनुवाइ प्रारम्भ गरिएको उच्च अदालतले जनाएको छ ।

साउनयता ५०७ फैसला

उच्च अदालत दिपायलमा २०७९ साल साउनदेखि चैत २० गतेसम्म ५०७ वटा मुद्दा फैसला भएको छन् । इजलास अधिकृत पाध्यायले दिएको जानकारी अनुसार जिम्मेवारी सरेर आएका ४८१ र नयाँ दर्ता ५८ गरि १ हजार ३९ मुद्दाको लगत रहेकोमा ५४३ मुद्दा फछ्र्र्यौट हुन बाँकी छन् ।यस अवधिमा ६ हजार ८९ मुद्दा फछ्र्र्यौट गर्ने लक्ष रहेको थियो । लक्ष्य ७३.५८ प्रतिशत उपलब्धि हासिल गरेको अदालतले जनाएको छ ।उच्च अदालतले जिम्मेवारी सरेका र नयाँ गरि चालु आर्थिक वर्षमा १ हजार ३२४ मुद्दा हुने अनुमान गरेको थियो । सो मध्ये ९०३ मुद्दा फर्छौट गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस