विपद् व्यवस्थापनबारे भइरहेको पूर्वतयारीबारे संसदलाई जानकारी गराउन प्रभु साहको सरकारसँग माग

सफल खबर संवाददाता

बुधबार, १३ बैशाख २०८०, १६ : ४६
विपद् व्यवस्थापनबारे भइरहेको पूर्वतयारीबारे संसदलाई जानकारी गराउन प्रभु साहको सरकारसँग माग

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहले विपद् व्यवस्थापनबारे भइरहेको पूर्वतयारीबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । रौतहटलगायतका जिल्लाहरुमा आगलागीका घटना दिनहुँ भइरहेको उल्लेख गर्दै उनले त्यसको न्यूनीकरणका लागि सरकारले के गरिरहेको छ ? भनि प्रश्न समेत गरे ।बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै अध्यक्ष साहले रौतहटका आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।‘प्राकृतिक प्रकोपबाट हुने क्षति रोक्न के भइरहेको छ ? हामी जान्न चाहन्छौं ।

दिनदिनै आगलागीका घटनाहरु सुनिरहेका छौं । रौतहटमा आगलागीबाट १३ वर्षीया बालिकोका निधन नै भयो । यसरी कुनै दिन छैन कि आगलागीको घटना नभएको सुनियोस् । त्यसैले यो घटनालाई न्यूनिकरण गर्न, यसलाई रोक्न विपद् व्यवस्थापनको जिम्मा पाएका निकायहरुले के गरिरहेका छन ? जान्न चाहन्छौं हामी’ अध्यक्ष साहले भने, ‘अहिले मात्रै होइन । वर्षेनी यो घटनाहरु दोहोरिरहेका छन् । केही महिना अघि शीतलहरबाट मान्छे मरेको सुन्थ्यौं । अहिले आगलागीबाट मान्छे मरिरहेको छ । केही दिन नबित्दै अब असिना र हावाहुरीले मान्छे मर्छन् । फेरि वर्षा आउँछ । पहिरो, बाढीले मान्छे मर्छ । यसको अग्रिम तयारी कसले गर्ने हो, कहिले गर्ने हो ? के भइरहेको छ ? हामी जान्न चाहन्छौं ।’ 

 

उनले वर्षा लाग्न सुरु भइसकेको उल्लेख गर्दै त्यसबाट हुने क्षति न्यूनीकरणका लागि पनि सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘अहिलेसम्म पीडितहरुले न्याय पाएका छैनन् । रौतहटमा आगलागि पीडितहरुले राहत पाएका छैनन् । उनीहरुले अर्काको घरमा र आकाशमुनि त्रिपालमा जीवन जीउनु परेको छ । अव वर्षा आउँदैछ । ठूलो क्षति हुन्छ । यसको पूर्व तयारी कसरी गरिरहेको छ नेपाल सरकारले ? जान्न पाए हुन्थ्यो ।’  अध्यक्ष साहले वर्षेनी विपद आउने तर सरकारले आवश्यक सावधानी नअपनाएकै कारण नागरिकको ज्यान जाने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।