सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल गरिन्छ : सञ्चारमन्त्री शर्मा

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १९ : ५२
सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल गरिन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वैदेशिक रोजगारीमा भएका श्रमिक सामाजिक सुरक्षा कोषमा समेटिए पनि पत्रकार नसमेटिनु दुःखको कुरा भएको शर्माले बताएकी छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र दिने क्रममा यस्तो बताएकी हुन् ।

‘वैदेशिक रोजगारीमा भएका कामदारलाई सामाजिक सुरक्षा कोषमा समेटिसकिएको छ । अब पत्रकारलाई सामाजिक सुरक्षामा नसमेट्ने भन्ने हुँदैन । नीतिगत रुपमा व्यवस्था गरेर सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल गरिने छ’, शर्माले भनिन् ।

पत्रकारिता पेशालाई व्यवस्थित र मर्यादित बनाउन सक्रिय पत्रकारलाई मात्रै पत्रकार महासंघमा समेट्न शर्माले सुझाव दिएकी छन् ।

सञ्चारमन्त्री शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लिने प्रयास भईरहेको पनि जानकारी गराएकी छन् । ‘सबै विज्ञापनलाई एकद्धार प्रणालीमा लग्ने सोचिएको छ । यसो हुँदा विज्ञापनमा हुने चुहावट रोकिने छ । विज्ञापनमा चुहावट भएर ९० प्रतिशतसम्म छुट दिएर मिडियामा छापिने रहेछ । विज्ञापन लग्ने र दिने मिले केही नहुने रहेछ’ शर्माले भनिन्, ‘अब विज्ञापनको सवालमा यस्तो हुँदैन । पत्रकारिता पेशा र पत्रकारलाई बलियो बनाउन विज्ञापन एकद्धार प्रणालीमा जाने छ । विज्ञापनमा हुने चुहावट रोकिएमा मिडियामा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा जान समस्या हुँदैन ।’

संघीय सरकारदेखि प्रदेश र स्थानीय तहमा विज्ञापन एकद्धार प्रणालीमा कसरी लग्न सकिन्छ भन्ने विषयमा सुझाव दिन शर्माले आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस