गठबन्धनलाई हार्ने छुट छैन : सभापति देउवा

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, २० : ३४
गठबन्धनलाई हार्ने छुट छैन : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन्। लोकतान्त्रिक–वाम गठबन्धनले आज चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गरे। उनले भने, “तपाईँहरूले जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो ।”

अहिलेको सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउने उल्लेख गर्दै उनले विकासका लागि समेत ढुक्क रहन आग्रह गरे। “चितवन ऐतिहासिक जिल्ला हो । जिताएर पठाउनुस्, अरु हामी गर्छौँ । जीतनारायण श्रेष्ठ काम गरेको र दुःख गरेको मान्छे भएकाले निर्वाचनमा जिताउनुपर्छ”, सभापति देउवाले भने, “विसं २००७, २०४७ साल र २०६२÷६३ सालको जनआन्दोलनमा यहाँका साथीहरूको सहभागिता र सक्रियतालाई बिर्सन हुँदैन ।”

चुनावीसभामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रजातन्त्रको बहालीका लागि अग्रपङ्क्तिमा लड्दै आएको चितवनका बासिन्दाले आफ्नो मतलाई गलतरुपमा प्रयोग गर्न नहुने बताए। विचार र सिद्धान्त नभएको पार्टीले देशलाई सुशासन दिन नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस