एमाले र जनमत पार्टी लोकतन्त्रका लागि घातक : उपेन्द्र यादव

सफल खबर संवाददाता

शुक्रबार, ०१ बैशाख २०८०, २० : ४३
एमाले र जनमत पार्टी लोकतन्त्रका लागि घातक : उपेन्द्र यादव

बारा । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र  यादवले दुई–दुई पटक संसद विघटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रका लागि घातक रहेको टिप्पणी गरेका छन् । 

बाराको पचरौता नगरपालिकामा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गरेका हुन् । ‘आफ्नो निहित स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुई पटक संसद विघटन गर्यो, अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेश विखण्डन नै रहेको छ’ अध्यक्ष यादवले भने ‘यी दुबै दल लोकतन्त्र र सिंगो मुलुकको अत्यन्तै घातक छन् ।’ दुवै दललाई परास्त नगरेसम्म लोकतन्त्र र देश सुरक्षित हुन नसक्ने दावी गर्दै उनले कुनै पनि विधेयक संसदबाट पारित भईसकेको अवस्थामा त्यसलाई रोक्ने अधिकार कसैको नरहेको र नागरिकता विधेयक रोकेर पूर्वराष्ट्रपतिले लाखौ युवालाई अवसरबाट बञ्चित गराएको तर्क गरे ।

बारा जिल्ला इतिहास निर्माण गर्ने किल्ला रहेको टिप्पणी गर्दै काठमाडौंलाई बसोबासयोग्य बनाउने बाराबासी नै रहेको चर्चा गर्दै अध्यक्ष यादवले बाराकै धर्तीपुत्र हरिसिंह देवले काठमाडौको सभ्यता र संस्कृति स्थापित गराएको बताए । मधेश जनविद्रोहमा बाराबासीको ठूलो योगदान रहेको चर्चा गर्दै त्यही योगदानको प्रतिफल स्वरुप आज मधेश प्रदेशको मुख्यमन्त्री तथा मुलुककै दोस्रो शीर्ष स्थान उपराष्ट्रपति पनि बाराबासीले पाएको उनले उल्लेख गरे । 

प्रतिगमनकारी शक्ति विरूद्ध र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको जिकिर गर्दै उनले विभिन्न कुतत्वहरूले सङ्घीयता र लोकतन्त्र माथि प्रहार गरिरहेको जिकिर गर्दै अध्यक्ष यादवले मुलुकको हित र लोकतन्त्रको रक्षाको लागि गठबन्धनको साझा उम्मेदवारहरुको विजयी  अपरिहार्य रहेको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस