झापाको जुरोपानी सबस्टेसन सञ्चालनमा

सफल खबर संवाददाता

सोमबार, २७ चैत्र २०७९, १२ : ३७
झापाको जुरोपानी सबस्टेसन सञ्चालनमा

झापा । झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा  ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत  वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना मार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका विद्युत् उपभोक्ताहरूले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने छ ।

६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित जुरोपानी सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइनहरू निकालिएको छ । सबस्टेसनबाट ११ केभीका गौरादह, महारानी, बैगुनधुरा र गौरीगञ्ज फिडर निकालिएको छ भने थप एउटा जगेडामा राखिएको छ ।

सबस्टेसनलाई आइतबार विद्युत् आपूर्ति दिई सञ्चालनमा (चार्ज) ल्याएको छ । पहिलो चरणमा महारानी फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी फिडर क्रमशः सञ्चालनमा ल्याइने छ ।

हाल गोरादह, जुरोपानी, महारानी, गौरीगञ्जलगायतका क्षेत्रमा पाडाजुगी (दमक) १३२ केभी सबस्टेसनबाट ११ केभी वितरण लाइनमार्फत विद्युत् आपूर्ति दिइएको थियो । ११ केभी वितरण लाइन ज्यादै लामो हुँदा त्यस क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थियो । जुरोपानी  सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि उपभोक्ताहरूले अहिले व्यहोरिरहेको समस्या समाधान भई विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय भएको छ । त्यस क्षेत्रका कृषकहरूले विद्युतीय मोटरबाट पानी तानी खेतमा सिँचाइ गर्दै आएका छन् ।

पहिले २८० भोल्ट लाइन आउने गरेकोमा नयाँ सबस्टेसनबाट आपूर्ति दिन थालेपछि ४०० भोल्ट लाइन  प्रवाह भई त्यस क्षेत्रमा कुटानीपिसानी मिलका उपकरणहरू पानी तान्ने पम्पलगायतले राम्रोसँग काम गर्न थालेको परीक्षण, सञ्चालन र चार्जिङमा संलग्न आयोजनाका सहायक इन्जिनियर दुर्गादत्त सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस