रास्वपाले तीनै क्षेत्रमा क्लिन स्विप गर्छ : प्रमुख सचेतक परियार

सफल खबर संवाददाता

मंगलबार, २१ चैत्र २०७९, १२ : ५१
रास्वपाले तीनै क्षेत्रमा क्लिन स्विप गर्छ : प्रमुख सचेतक परियार

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधि सभाको उपनिर्वाचनमा रास्वपाले तीनै क्षेत्रमा क्लिन स्विप गर्ने दाबी गरेका छन । रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले विगतको आमनिर्वाचनमा झैं चितवन–२, तनहुँ–१ र बारा–२ का मतदाताले रास्वपाका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउने दाबी गरेका हुन।

उनले रास्वपाले गत आमनिर्वाचनमा जनतासमक्ष वाचा गरेका कुराहरूलाई नबिर्सेको र रास्वपा आफ्नो पूर्ववर्ती अडान र एजेन्डामा अडिग रहेकाले नेपाली जनताले आफ्नो पार्टीलाई स्वभाविक रूपमा माया र स्नेह गर्ने आशा गर्ने बताए ।

प्रमुख सचेतक परियारले चितवन–२, तनहुँ–१ र बारा–२ मा रास्वपाका तर्फबाट प्रत्याशी भएका सबै उम्मेदवार सक्षम र सबल रहेको चर्चा गर्दै उहाँहरूलाई जनताले आफ्नो सेवकको रूपमा चुनेर पठाउनु हुने बताए।

उनले रास्वपा मुलुकको समग्र विकास र जनताको हित विपरीत कहिल्यै विचलित नहुनेमा जोड दिए । प्रमुख सचेतक परियारले दशकौंदेखि शासन गरेका पार्टीहरूले मात्रै मुलुकमा विकास गर्न सक्छ भन्ने भ्रम रहेकोमा त्यो पूर्ण सत्य होइन हैं भन्ने मंसिरको निर्वाचनको परिणामले देखाएको उल्लेख गरे ।

उनले रास्वपाले मुलुकमा राजनीतिक अस्थिरता र आर्थिक अवस्था नआओस भन्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर नेपाली जनताको भावनाअनुसार नै काम गरेको ठोकुवासमेत गरे।

प्रतिक्रिया दिनुहोस