प्रकोप प्रभावितलाई वर्षा अगावै सुरक्षित आवास पुर्‍याउनुस् : शहरी विकास मन्त्री गुरूङ

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, १५ : ४७
प्रकोप प्रभावितलाई वर्षा अगावै सुरक्षित आवास पुर्‍याउनुस् : शहरी विकास मन्त्री गुरूङ

काठमाडौं। शहरी विकासमन्त्री सीता गुरुङले प्रकोप प्रभावित भई घरबिहीन बनेका नागरिकलाई वर्षा सुरू हुनु अगावै ओत् लाग्न पाउने गरी आवासको सुविधा पुर्‍याउन निर्देशन दिएकी छिन् ।आइतबार मन्त्रालयमा भएको शहरी विकास तथा भवन निर्माण विभागको स्वागत र बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो निर्देशन दिएकी हुन् ।उनले विपद् प्रभावित भई घरबिहीन बनेका नागरिकलाई दुई महिनाभित्रै आधारभूत आवास सुविधाको प्रबन्ध गर्न निर्देशन दिएकी हुन् ।

‘संविधानले नै नागरिकलाई आधारभूत आवास सुविधाको कुरा मौलिक हककोरुपमा व्यवस्था गरेको छ । त्यससम्बन्धी कानूनी प्रावधान र अनुदानको व्यवस्थासमेत छ,’ मन्त्री गुरुङले भनिन्, ‘संविधान र कानूनबमोजिम जसले सुरक्षित आवासको सुविधा पाउने हो, उसलाई वर्षा सुरू हुनुअगावै आधारभूत आवासको सुविधा पुर्‍याउनुस् ।’

विभागले सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधिअनुसार विपद्का कारण घरबारविहीन भएका परिवारलाई आवासकालागि जस्तापाता र सहुलियत दरको काठलगायतका सामाग्री खरिदका लागि अनुदान दिने व्यवस्था छ भने विपन्न समुदायलाई घर निर्माणमा अनुदान दिने कार्यक्रम छ । तर त्यस्तो अनुदान कार्यक्रम प्रभावकारी छैन ।काठमाडौंको फोहोरमैला व्यवस्थापनमा चासो राख्दै बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन केन्द्रको व्यवस्थापनमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस