राष्ट्रिय सभा बैठक : शुन्य समयमा सांसदहरुले के-के भने ?

सफल खबर संवाददाता

विहीबार, १६ चैत्र २०७९, १२ : १८
राष्ट्रिय सभा बैठक : शुन्य समयमा सांसदहरुले के-के भने ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले मिटरब्याज पीडितहरुको समस्या तत्काल समाधान गर्न सरकारलाई अनुरोध गरेका छन । बिहीबारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याज पीडितहरुसँग वार्ता गरी समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेका छन। उनले सामन्तवादको अवशेषको रुपमा रहेको शोषणको नयाँ रुप मिटरब्याजको रुपमा आएको बताए ।

राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले सुदुरपश्चिममा कार्तिक २२ गतेदेखि निरन्तर भूकम्प गइरहेको भन्दै त्यहाँका नागरिकलाई सुरक्षा र राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सुदूरपश्चिम भुकम्पको उच्च जोखिमममा रहेको भन्दै यसबाट बच्च अहिलेदेखि नै वैकल्पिक उपाय अपनाउनुपर्नेमा उनले सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले २०७२ सालको भूकम्पमा भत्किएको नेपाल राष्ट्रिय पुस्तकालयलाई भक्तपुरको पुरानो ठिमीमा लगेर व्यवस्थापन गर्ने प्रयास गरिएको भएपनि उचित व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले प्रविधिमैत्री पुस्तकालय बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस