काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रिय सचिवालयमा छिटो पेश गर्न तीन सदस्यीय कार्य दललाई निर्देशन दिएको छ ।
मंगलबार काठमाडौंको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टी केन्द्रिय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव तत्काल पेश गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो ।
कार्यदललाई पार्टीले पाउने मन्त्रालय र प्रस्तावित मन्त्रीहरुको नामावलीसहितको प्रस्ताव छिटो पार्टी केन्द्रिय सचिवालयमा पेश गर्न निर्देश गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। सो प्रस्तावमाथि छलफल गरेर मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुबारे टुंगोमा पुग्ने सकिने उनको भनाई थियो ।
प्रवक्ता खतिवडाले भने, ‘सरकारका सन्दर्भमा सरकारमा जाने विषयमा हाम्रो कतै विमति रहेको छैन । मन्त्रालयको टुंगो नलागिकन मन्त्रीहरुको टुंगो लगाउन गाह्रो हुने भएकाले यी दुवैको गृहकार्य गरी चाँडो भन्दाचाँडो सचिवालयको बैठकमा पेश गर्न ३ सदस्यीय कार्यदललाई आज पनि हामीले निर्देशन दिएका छौं । कार्यदलले चाँडो भन्दा चाँडो मन्त्रालय र प्रस्तावित मन्त्रीहरुको नामसहित उसले पेश गर्न सक्छ । त्यसमा छलफल हुन्छ । पेश गरेको कुरामा केही सुधार गर्नु परे सुधार पनि होला । अनि, हामी निर्णयमा पुग्नेछौं ।’
त्यसैगरी बैठकले मिटरब्याँज पीडितहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ । मिटर ब्याज लगाउनेहरुलाई कारबाही गर्न पनि सरकारलाई सचेत गराइएको पनि प्रवक्ता खतिवडाले बताए।
बैठकले पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि स्विकृत गरिएको नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १५ : ३३
लेखकबाट थप