महालक्ष्मी मोटर ड्राइभिङबाट चितवनको ट्रायल, यस्तो छ तयारी

सफल खबर संवाददाता

शनिबार, ११ चैत्र २०७९, ०८ : ५०
महालक्ष्मी मोटर ड्राइभिङबाट चितवनको ट्रायल, यस्तो छ तयारी

चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ । ट्रायल सेन्टरको जिम्मा महालक्ष्मी मोटर ड्राइभिङले पाएको छ । 

ट्रायल सेन्टर भरतपुर बसपार्कबाट पूर्व–दक्षिणतर्फ एक किमीभित्र तीनतले चोकमा रहेको छ । गत वर्षदेखि नै सेवा दिने तयारी गरे पनि ट्रायल सेन्टर सञ्चालनका विषयमा भएको विवाद नटुङ्गिँदा समय पछि सरेको हो । अब भने कार्यालयले आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी तयारी गरेको हो । 

कार्यालयले दैनिक पाँच सय जनाको लाइसेन्स परीक्षा लिने गरी बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबाट अनुमति लिइसकेको छ । कार्यालयका प्रमुख कालिप्रसाद भुजेलका अनुसार  विभागबाट सबै प्राविधिक प्रक्रिया पुरा भएमा आइतबारदेखि फाराम खोल्न सकिने देखिन्छ ।

उनका अनुसार दैनिक दुई सय जनालाई मोटरसाइकल, एक सय जनालाई स्कुटर, एक सय जनालाई कार जिप, ४० जनालाई रिक्सा, ईरिक्सा र टेम्पो, २० जनालाई ट्र्याक्टर, १५ जनालाई मिनी बस ट्रक, १५ जनालाई ट्रक बस लहरी र २५ जनालाई मेसिनरी उपकरणको परीक्षा लिइने छ । क्रमशः यो सङ्ख्या बढाउँदै लगिने उनले जानकारी दिए ।

एक साताको फाराम भर्ने समय राखिने छ । हाल  कार्यालय भरतपुर विमानस्थल अगाडि रहेको छ । अब भने जिल्ला समन्वय समिति अगाडि रहेको गेष्ट हाउस भवनबाट सेवा दिने तयारी कार्यालयको छ ।

यो कार्यालयबाट सेवा सुरू भएसँगै यातायातसँग सम्बन्धित सबै काम भरतपुरबाटै हुनेछ ।  त्यसका लागि भवन तयारी भएको र कर्मचारी पनि तयारी अवस्थामा रहेको उनले बताए । नयाँ लाइसेन्स र नवीकरण, ब्लुबुक दर्ता र नामसारी तथा नवीकरण, रूट परमिट, जाँचपासजस्ता महत्वपूर्ण काम अब भरतपुरबाटै हुनेछन् ।

प्रतिक्रिया दिनुहोस