ओलीको कटाक्षः सरकारलाई सुझाव दिनु ‘भैंसीलाई वीन बजाए’ जस्तै हो

सफल खबर संवाददाता

शुक्रबार, १० चैत्र २०७९, १९ : ५२
ओलीको कटाक्षः सरकारलाई सुझाव दिनु ‘भैंसीलाई वीन बजाए’ जस्तै हो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताएका छन।

भैंसीको अगाडि वीन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेको ओलीको कटाक्ष थियो । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेला अवलोकन गर्न पुग्नु भएका उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सरकारले आफूहरुले दिएको सुझावको मतलव नै नराख्ने जिकीर समेत गरे ।

अध्यक्ष ओलीले नेपालमा जुत्ता–चप्पल उद्योगको दिगोपनाका लागि अवैध रुपमा भित्र्ने जुत्ता चप्पल सरकारले नियन्त्रण गर्नुपर्ने आवश्यक्ता औंल्याए । त्यसैगरी उनले नेपाली उद्योगको प्रवद्र्धनका लागि सरकारले कच्चा पदार्थको आयातलाई सहज र सस्तो बनाउनुपर्ने बताए।

उनले भने, ‘हुनत अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दीमा एउटा भन्छः भैसके आगे विन बझाए, भैस रहे पगुराए भन्छ । भैसीको अगाडि विन बजायो भने उग्राएर बस्छ । त्यो केही मतलव राख्दैन । त्यस्तै हो । अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि । हिजो लुटेर लिएर जुत्ता लगाउनु र आज भन्सारतिरबाट लुट फस्र्यौट गर्नु एउटै कुरा हो । तपाईहरुको अघि मैले भने नि । ५०र५३ प्रतिशत त लुटेकै छ नि त । अव त्यो नरोकिन । विदेशी जुत्ता त्यति सस्तोमा पाउने भएपछि त्यतै मान्छे आकर्षित हुन सक्छ । स्वदेशी उत्पादनले संरक्षण पाएको छैन अहिलेसम्म । त्यसलाई संरक्षण दिनु पर्छ । त्यसका लागि कच्चा पदार्थको सहज र सस्तोमा पाउने अवस्था र यसमाथिको भ्रष्ट हस्तक्षेप नेपाली उत्पादनमाथिको भ्रष्ट हस्तक्षेप त्यो व्यापारिक क्षेत्र र सरकारी क्षेत्र भएको छ । त्यसलाई रोक्नु पर्दछ ।’

ओलीले स्वदेशी बस्तुको उत्पादनमा बढावा दिनका लागि सरकारले नै स्वदेशी बस्तुको उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने पनि बताए । त्यसक्रममा उनले नेपाली जुत्ता–चप्पलका सबै ब्राण्डहरुको रुचिपूर्वक अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस