'नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८'

सफल खबर संवाददाता

शुक्रबार, १० चैत्र २०७९, ११ : २२
'नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८'

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गर्न लागेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।

यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो। विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको हो। राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई राखिएको छ।

सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५८७ जनसंख्या छ भने सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा पाँच हजार ६८५ जना मानिस छन्।भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ।

प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ।

सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुरमा

सबैभन्दा बढी वृद्धिदर भक्तपुर जिल्लामा देखिएको छ। यहाँ ३.५ प्रतिशतले बढ्दा रामेछाप जिल्लामा भने सबैभन्दा बढी घटेको देखिएको छ। यो जिल्लामा हरेक वर्ष १.६७ प्रतिशतले जनसंख्या घटेको देखिएको छ। एक वर्ष किलोमिटरमा १९८ जना बस्छन् जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) बढेको छ। अहिले एक वर्ग किलोमिटरमा १९८ जना बस्ने गरेको देखिएको छ।

२०६८ सालमा १८० जना मात्रै बस्‍ने गरेका थिए। भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ। सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा रहेको छ। यहाँ एक वर्ग किलोमिटरमा पाँच हजार १६९ जना बस्ने गरेको छन्।

सबैभन्दा कम मनाङ जिल्लामा तीन जना मात्रै बस्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस