१० वर्षमा आगलागीका घटना तेब्बर

सफल खबर संवाददाता

विहीबार, ०९ चैत्र २०७९, १९ : ५८
१० वर्षमा आगलागीका घटना तेब्बर

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विगत १० वर्षमा आगलागीका घटनाहरु तेब्बरले बृद्धि भएको बताएका छन् । त्यसको न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी संचार, तहगत प्रशिक्षण सहितका पहल गरिरहेको उनको भनाइ छ ।

आज प्राधिकरणमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले यस वर्ष हिउँदे वर्षा असाध्यै न्यून भएकोले आगलागी तथा वन डढेलाका घटनाहरुको जोखिम पनि अधिक हुनसक्नेतर्फ प्राधिकरणले विशेष ध्यान दिएको पनि जानकारी दिए । 

आगलागीबाट २०७० बैशाख १ गतेदेखि २०७९ चैत्र ७ गतेसम्म  भएका १८ हजार ७९१ घटनामा  ७६९ को ज्यान गएको छ भने २ हजार ५६८ घाइते भएका छन् । आर्थिक क्षति २२ अर्ब २३ करोड भन्दा बढी छ । डढेलोबाट काठपात, जंगली जनावर, जडिबुटीसहित ठूलो पर्यावरणीय क्षति हुने गरेको छ । यसै अवधिमा चट्याङका २ हजार २८० घटनाहरु हुँदा ९०१ को मृत्यु भएको छ भने २ हजार ५४५ जना घाइते हुनुभएको छ । यस अवधिमा २ हजार ८०३ चौपायाको पनि क्षति भएको छ । 

आगलागी, वन डढेलो, चट्याङलगायत सबै प्रकारका विपद् जोखिमको जानकारी प्राप्त गरी सोहीअनुसार न्यूनीकरण तथा व्यवस्थापनका कार्य संचालन गर्न सबै जानकारी एउटै पोर्टलमा व्यवस्थित गर्ने प्रणाली सुरु गरिएको छ । 

आगलागी तथा वन डढेलो नियन्त्रणमा खटिने अग्नि(नियन्त्रण दस्ताहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन उपभोक्ता समूह र नेपाल सरकारका वन प्राविधिकहरुका लागि उपयुक्त हुने तालिम सामग्रीहरुको विकास गरी इ(लर्निङ पाठ्यक्रमको डिजाइन भइरहेको प्राधिकरणका सहसचिव अनिता निरौलाले बताइन् ।

प्रतिक्रिया दिनुहोस