अर्थतन्त्रको पछिल्लो अवस्थाबारे चिन्तित छु : राष्ट्रपति पौडेल

सफल खबर संवाददाता

विहीबार, ०९ चैत्र २०७९, १५ : १७
अर्थतन्त्रको पछिल्लो अवस्थाबारे चिन्तित छु : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे आफू चिन्तित रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारीसँग भट्दै राष्ट्रपतिले यस्तो बताएका हुन् ।

चेम्बरले नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएको छ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले भेट गरेको हो ।

चेम्बर पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको बर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताए । जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति पौडेलले भने, ‘सरकारले पूर्णता पाइसकेको छैन । सरकारले पूर्णता पाए लगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँछु ।’

वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलले बताए । मुलुकभित्र उत्पादन वृद्धि एवम रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।

राष्ट्रपतिसँगको भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रदर्शन हुनेमा आफूहरु विश्वस्त रहेको बताए । अध्यक्ष मल्लले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको छैन । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवम सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको छ ।’

पूँजीगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए । आर्थिक समृद्धि र अर्थतन्त्रलाई चालायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए । कर्जा प्रवाह गरिंदा ब्याजदरमा लकअप प्रणाली लागु गरिनुपर्ने आफूहरुको माग रहेको मल्लले बताए । लकअप प्रणाली कायम गरिए वित्तीय सन्तुलन कायम हुने र ऋणीहरु मर्कामा नपर्ने चेम्बरको ठहर छ ।

राष्ट्रपतिसमक्ष अध्यक्ष मल्लले बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यान्त्रीकरण एवं वैज्ञानिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन सकिने सुझाव दिएका छन् । कृषि कर्जा प्रवाह गर्दा खेत किन्नेलाई नभई खेती गर्नेले पाउने व्यवस्थाका लागि पनि अध्यक्ष मल्लले राष्ट्रपति पौडेलको ध्यानकर्षण गराएका छन् । आत्मनिर्भर कृषिका लागि राष्ट्रपति माटो प्रवर्द्धन जस्ता परियोजना बनाई राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने समेत चेम्बरले सुझाव दिएको छ ।