“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०८३, १३ : ०७
“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, प्रभावकारी सेवा प्रवाह र नागरिकको अपेक्षाअनुरूपको राज्य व्यवस्था निर्माणका लागि सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्र आवश्यक रहेको बताएका छन्। उनले सार्वजनिक सेवामा योग्य जनशक्ति छनोट गर्ने प्रणालीमाथिको विश्वास कायम राख्दै प्रशासनिक संयन्त्रलाई थप आधुनिक, जनमुखी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्।

लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आयोगले साढे सात दशकभन्दा लामो अवधिदेखि योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा कर्मचारी छनोट गर्दै आएको उल्लेख गरे। राज्य सञ्चालनका लागि आवश्यक जनशक्ति छनोट गर्ने संवैधानिक जिम्मेवारी आयोगले प्रभावकारी रूपमा निर्वाह गरिरहेको भन्दै उनले आयोगप्रतिको जनविश्वास र भरोसा यसको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए।

निष्पक्षता र योग्यतामा आधारित कर्मचारी छनोट नै सार्वजनिक प्रशासनको सबैभन्दा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आयोगले अवलम्बन गरेको मूल्य, मान्यता र प्रणालीकै कारण संस्थाप्रतिको विश्वास आजसम्म कायम रहेको बताए। उनले आयोगले आर्जन गरेको यही विश्वसनीयता र प्रतिष्ठालाई भविष्यमा अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस