सुकुना बहुमुखी क्याम्पसमा पुनः लिम्बु निर्वाचित

सफल खबर संवाददाता

मंगलबार, ०७ चैत्र २०७९, ११ : ३८
सुकुना बहुमुखी क्याम्पसमा पुनः लिम्बु निर्वाचित

विराटनगर। मोरङको सुकुना बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियु पहिलोपटक पराजित भएको छ ।यसअघि भएका सबै चुनावमा जितेको अनेरास्ववियुले २०७९ चैत्र ६ गते भएको चुनावमा आफ्नै संगठनबाट फुटेर गएको एकीकृत समजावादी निकटको अनेरास्ववियूसँग पराजय भोग्नुपरेको छ । यसअघि यज्ञ सुवेदी, राजकुमार ओझा, गोपाल श्रेष्ठ, देवी राई, भुपाल बस्नेत, बद्री अर्याल र सन्तोष लिम्बु अनेरास्ववियुबाट निर्वाचित भएका थिए । 

स्ववियु सभापतिमा पुनः सन्तोष लिम्बु नै निर्वाचित भएका छन् । लिम्बु नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका नेता हुन् । २०७३ सालमा सभापति निर्वाचित हुँदा उनी नेकपा एमाले निकटको अनेरास्ववियुमा थिए ।यसपालि लिम्बु १ हजार ३८२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमाले निकटको अनेरास्ववियुका मनोज कार्कीले ६५७ मत मात्रै प्राप्त गरेका छन् । विद्यार्थी संगठनहरूबीच विवाद हुँदा चैत्र ६ गते मात्रै क्याम्पसमा चुनाव भएको थियो । 

सचिवमा एमाले निकटको अनेरास्ववियुका एलिस ओझा निर्वाचित भएका छन् । ओझाले १ हजार १४ मत प्राप्त गर्दा नेविसंघका निराजन धमलाले १ हजार ६ मत मात्रै ल्याएका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन् । उनले १ हजार ३२५ मत ल्याएका छन् भने अनेरास्ववियुकी हेमकुमारी नेपालीले ६९५ मत मात्रै ल्याएकी छन् ।सुकुनामा सत्ता गठबन्धनका विद्यार्थीले प्यानल बनाएका थिए । सदस्यहरूमा पनि बुहमत सदस्य सत्ता गठबन्धनका विद्यार्थीले जितेका छन्।

प्रतिक्रिया दिनुहोस