बिमा कम्पनीले सर्भेयरको ४० करोड भन्दा बढी रकम ब्लक गरेको गुनासो

सफल खबर संवाददाता

आइतबार, ०५ चैत्र २०७९, १२ : ४७
बिमा कम्पनीले सर्भेयरको ४० करोड भन्दा बढी रकम ब्लक गरेको गुनासो

चितवन । बिमा कम्पनीले बिमा सर्भेयरको ४० करोड भन्दा बढी रकम ब्लक गरेको गुनासो गरेका छन् । बिमा सर्भेयर संघ नेपाल (निसा) को १४ औँ वार्षिक साधारणमा बोल्दै सर्भेयर इन्जिनियरहरुले यस्तो गुनासो गरेका हुन् ।

चितवनको सौराहामा भएको साधारणसभामा बोल्दै ई.शेरबहादुर बुढाले नयाँ सर्भेयरहरुले पुराना सर्भेयरबाट जोश र हौसला खोजीरहेको बताउँदै उनीहरुलाई समस्यामात्र देखाउनु भन्दा पनि सम्भावनाको बाटो पनि पहिल्याउन सिकाउनु पर्नेमा जोड दिए।

त्यस्तै ई.कृष्ण देवकोटाले आफुहरुले काम गरे बापतको पैसा समयमा नआउने गरेको बताउँदै बिमा सर्भेयर संघ नेपालले यो समस्या समाधानमा पहल गर्नुपर्ने बताए । साधारण सभामा बोल्दै सर्भेयरहरुले नयाँलाई तालिम र सीपको आवश्यक रहेकोमा जोड दिएका थिए । ई. धर्मराज अर्यालले निसामा दर्ता भएपछि मात्र काम गर्न पाउनु पर्ने नीति बनाउनुपर्नेमा जोड दिएका थिए। उनले नयाँलाई तालिमको व्यवस्था गर्नुपर्ने माग समेत गरे ।

साधारण सभाले बिमा सर्भेयर संघमा आवद्ध सदस्यले राष्ट्रिय बिमा कम्पनीमा काम गर्न नपाउने र गरेमा कारवाही गर्ने निर्णय समेत पारित गरेको छ । नेपाल बिमा संघका अध्यक्ष चंकी क्षेत्रीले बिमा कम्पनीले पैसा दिदैँन भनेर अफवहा फैलीएको बताउँदै यो सत्यता नभएको दाबी गरे । उनले बिमा कम्पनीले समयमै पैसा भुक्तानी गर्ने गरेको बताउँदै बिमा सर्भेयरमा भएको समस्यालाई पनि सम्बोधन गर्दै जाने बताए ।

त्यस्तै बिमा सर्भेयर संघ नेपालका सभापति मोहन पुरुष ढकालले विभिन्न बिधान, कोभिड, चुनाव जस्ता कारणले बिमा सर्भेयर संघले लक्ष्य अनुसार काम गर्न नसकेको बताउँदै अब फरक ढंगबाट अगाडी बढ्ने बताए । उनले नयाँ आएको बिमा संघले बिमा सर्भेयरको समस्यालाई समाधान गर्दै जाने विश्वास पनि व्यक्त गरे

कार्यक्रममा बोल्दै बिमा सर्भेयर संघ नेपालका पूर्व सभापती सूर्यप्रसाद जोशी, शिवचन्द्र शाक्या, चितवन च्याप्टरका प्रमुख ई गोपीनाथ खरेलले नयाँ सदस्यलाई प्रोत्साहान गर्न निसा सधै तयार रहेको बताउँदै गुनासो मात्र भन्दा पनि समस्या समाधान गर्न तिर ध्यान दिनुपर्ने बताए । संघले आफ्नो लागी के गर्यो भन्दा पनि आफैले निखार्दै जानुपर्नेमा जोड् दिए ।

प्रतिक्रिया दिनुहोस