नारायणगढ–बुटवल सडक विस्तारमा कम्पनीको चरम लापरबाही: डा.शंशाक कोइराला

सफल खबर संवाददाता

आइतबार, २८ फागुन २०७९, १९ : ००
नारायणगढ–बुटवल सडक विस्तारमा कम्पनीको चरम लापरबाही: डा.शंशाक कोइराला

कावासोती । नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा. शशाङ्क कोइरालाले नारायणघाट बुटवल सडक विस्तारमा निर्माण कम्पनी चाइना स्टेट इञ्जिनीयरिङ कर्पोरशनले चरम लापरबाही गरेको बताएका छन।

विभिन्न कार्यक्रममा सहभागी हुन पूर्वी नवलपरासी आइपुगेका कोइरालाले पत्रकारसँगको कुराकानीमा निर्माण कम्पनीको ढिलासुस्तीका कारणले जनताले भोगेको सास्तीका विषयमा पटकपटक निर्माण कम्पनीको स्थानीय तथा काठमाडौँस्थित कार्यालयमा गएर ध्यानाकर्षण गराएको भए पनि काम ढिलासुस्ती गर्ने क्रम घट्नुको सट्टा झन बढेको बताए ।

गत साउनमा आयोजनाको म्याद थप्ने बेला सडक विस्तारको कामलाई तीव्र गतिमा बढाउने भनेर प्रतिबद्धता व्यक्त गरे पनि निर्माण कम्पनीको पछिल्लो काम हेर्दा सन्तोष मान्ने स्थिति नभएको उनको भनाइ थियो । काममा ढिलाइ हुँदा यो सडक भएर यात्रा गर्ने यात्रु मात्रै होइन, नारायणघाटदेखि बुटवलसम्मका स्थानीयवासीलाई ठूलो समस्या भएको भन्दै उनले यस विषयमा काठमाडौँ फर्किए लगत्तै प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने जानकारी दिए ।

“यात्रा गर्ने यात्रुको समय बर्बाद भएको छ, दैनिक निस्किने धुलोले स्थानीयवासीलाई समस्या भएको छ, श्वासप्रश्वासका बिरामी बढ्न लागेका छन, यसरी काम गरिरहने हो भने चुप लागेर बस्ने अवस्था हुँदैन”, उनले भने ।

साविकको अवस्थामा बुटवल–नारायणगढ पार गर्न निजी गाडीमा दुई घण्टा र बसमा करिब तीन घण्टा लाग्ने गरेकोमा अहिले छ÷सात घण्टा बढी समय लाग्ने समस्याले जनतालाई निकै सास्ती भएको नेता कोइरालाको भनाइ थियो । कामलाई तीव्रता दिए पनि काम निकै ढिला भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस