काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । अन्तिम चरणका कामहरु भइरहेको आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।
आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना (हेडवर्क्स)को निर्माण सम्पन्न भएको छ । हाल हेडवर्क्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७.२ किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको काम भइरहेको समेत आयोजनाको भनाइ छ ।
विद्युतगृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ । विद्युत गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारणलाइनका टावरहरु निर्माण सम्पन्न भएको छ । तार तान्न बाँकी रहेको छ ।
२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी–पहिरो र कोभिड–१९ को महामारीको चपेटामा आयोजना परेको थियो ।
प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो ।
तर, करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनक रुपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पुर्याएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजनाको प्रवर्द्धक मध्यभोटेकोसी जलविद्युत कम्पनीका अध्यक्ष सुभाषकुमार मिश्र, प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीसहितको टोलीले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ । टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदातासँग छलफल गरी ४ महिनाभित्र सम्पन्न गर्ने गरी बाँकी रहेका कामलाई तीव्रता दिन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, १३ : ०४
लेखकबाट थप