लिभरपुलद्वारा म्यानचेस्टर युनाइटेडमाथि गोलको वर्षा

एजेन्सी

सोमबार, २२ फागुन २०७९, ०७ : १२
लिभरपुलद्वारा म्यानचेस्टर युनाइटेडमाथि गोलको वर्षा

एजेन्सी  । लिभरपुलले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि गोल वर्षा गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले ७–० गोलको अन्तरसहित शानदार जीत हासिल गरेको हो ।

लिभरपुलको जीतमा कोडी गाक्पो, डार्विन नुनेज र मोहमद शालाहले दुई–दुई गोल गरे भने एक गोल रोबर्टो फर्मिन्होले गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा गाक्पोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने लिभरपुलले युनाइटेडमाथि गोल वर्षा गरेको थियो । 

नुनेजले ४७ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए भने ६६ औँ मिनेटमा शालाहले अर्को गोल थपे । त्यसपछि दुई खेलाडीले पालोपालो एक–एक गोल गरे ।

खेलको अन्त्यतिर फर्मिन्होले अर्को गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । युनाइटेडमाथि लिभरपुलको यो सबैभन्दा ठूलो जीत हो । 

खेलमा दुई गोल गरेका शालाह प्रिमियर लिगमा लिभरपुलका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले रोबी फ्लावरको १ सय २८ गोलको कीर्तिमान भंग गरेका हुन् । 

जीतसँगै लिभरपुल लिगको पाँचौ स्थानमा उक्लिएको छ । लिभरपुलको २५ खेलबाट ४२ अंक छ । युनाइटेड ४९ अंकसहित लिगको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस