भरतपुर महानगरमा रिङरोड र लिङ्करोडको काम सुरु

सूर्यप्रकाश कँडेल

विहीबार, २८ असार २०७५, १६ : ४६
भरतपुर महानगरमा रिङरोड र लिङ्करोडको काम सुरु

चितवन । भरतपुर महानगरपालिका अन्तर्गत लिङ्करोड र रिङ्रोडको केही खण्ड निर्माणको काम सुरु भएको छ । वैदेशिक ऋण ल्याएर नेपाल सरकारले भरतपुर महानगरपालिकामार्फत् दुई वटा प्याकेजमा सडक निर्माणको काम सुरु गरेको हो । 
लिङ्करोड र रिङ्रोडको केही खण्ड निर्माणको भोलि शुक्रबार पटिहानीमा एक कार्यक्रमबीच शिलान्यास हुँदैछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ । भरतपुर महानगरपालिकामार्फत् सञ्चालन हुने दुई वटै प्याकेजका विकास निर्माणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले परामर्शदाताको रुपमा काम गर्नेछ ।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत कालेपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नम्बर एक र दुईमा विभिन्न निर्माण कम्पनीसँग निर्माण सम्झौता भई काम सुरु भइसकेको छ । प्याकेज नम्बर एकको लागि कान्छाराम सन्तोषी डाँफे जेभीसँग ७७ करोड ८३ लाख ५८ हजार रुपैयाँको निर्माण सम्झौता असार १५ गते भएको छ । 
यसैगरी प्याकेज नम्बर दुईको लागि रमन शिवशक्ति जेभीसँग  ६८ करोड २३ लाख १५ हजार रुपैयाँको निर्माण सम्झौता असार २६ गते भएको छ । ठेक्का सम्झौता मितिदेखि नै काम सुरु भइसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले जनाएको छ । यी दुबै ठेक्का सम्पन्न गर्नुपर्ने मिति २०७७ साल असार मसान्तसम्म रहेको छ ।
डिभिजन प्रमुख कुमारप्रसाद घिमिरे लिङ्करोड र रिङ्रोडको केही अंशको रुपमा निर्माण हुन गइरहेका सडकहरुको काम तोकिएको समयमा नै पूरा हुने बताउनु हुन्छ । प्याकेज नम्बर एक र प्याकेज नम्बर दुईको योजना विवरण अनुसार कालोपत्रे सडक र ढल निर्माणको काम अगाडि बढाइने उहाँले बताउनु भयो ।
 

प्रतिक्रिया दिनुहोस