जनमत पार्टी सरकारबाट बाहिरिँदैन : सिके राउत

सफल खबर संवाददाता

मंगलबार, १६ फागुन २०७९, १५ : २८
जनमत पार्टी सरकारबाट बाहिरिँदैन : सिके राउत

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरु सरकारबाट नबाहिरिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताए ।‘अहिले त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति भएको छैन जसले सरकार बाहिर आउनु परोस, सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको,’ उनले भने, ‘अरु पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो । जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन । त्यही भएर जनमत पार्टी सरकारमा यथावत छ ।’

माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने उनले बताए ।उनले भने, ‘यो भन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो । अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ । सरकार कहाँ बदलिएको छ त ? सरकारमा सामेल भएका दलहरु फेरिएका । सरकार फेरिएको छैन । सरकार बदलिएको होइन । हामी त्यही भएर सरकारमा यथावत छौँ ।’

अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भुमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै सोही बमोजिमको पात्रको रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए । जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिन नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उनले स्पष्ट पारे ।

राउतले भने, ‘सभामुख र राष्ट्रपति सकेसम्म एउटै दलको नहोस् भन्ने हामी चाहन्छौँ । किनभने त्यसले देशमा निरंकुशता जन्माउन सक्छ भनेर प्रशस्त आधारहरु रहेका छन् । त्यसैले हामीले नयाँ गठबन्धनले प्रश्तावित गरेको राष्ट्रपतिलाई समर्थन दिने पक्षमा रहेका छौँ ।’

नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलन लगायतका आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन फिर्ता हुनसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस