एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरु

सफल खबर संवाददाता

मंगलबार, १६ फागुन २०७९, १२ : ५९
एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरु

काठमाडौँ । नेपाल सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरु गरेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच वेब मनिटरिङ प्रणाली सुरुवात गरिएको हो । यस प्रणाली र वेबसाइटलाई सूचना प्रविधि विभागले विकास गरेको हो ।

अहिले निर्माण भएका कतिपय कार्यालयका वेबसाइटहरू पुरानो सोर्स कोड, प्रविधि तथा टेम्प्लेटहरु प्रयोग भई निर्माण भएका कारण तिनीहरू साइबर सुरक्षाका दृष्टिले उच्च जोखिममा रहेको गुनासो जनस्तरमा देखिन्छ । अर्कोतर्फ लेआउट तथा प्रयोगका दृष्टिले समेत सहज र सरल बनाउन सूचना प्रविधि केन्द्रलाई नयाँ टेम्पलेट बनाउन निर्देशन दिइएसँगै  यस विषयमा गृहकार्य गर्न सूचना प्रविधि केन्द्र, प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि शाखा र डेभलपर टिमसँग निरन्तर छलफलपछि नयाँ टेम्पलेट परिमार्जन गरिएको हो।

एउटै स्टाण्डर्डको ढाँचामा वेबपेज निर्माणले भविष्यमा वेबपेजहरुको सुरक्षा निरीक्षण (सेक्युरिटी इन्सपेक्सन) तथा प्रणाली अपडेट गर्न समेत सहज हुने छ । साइबर सुरक्षामा देखिने जोखिमलाई एउटै प्रणालीबाट हल गर्न सकिने तथा वेभ डेभलपमेन्टको क्षेत्रमा विकास हुने नयाँ प्रविधिलाई समेत एउटै प्लेटफर्मबाट अपडेट गर्न सहज हुने छ ।

हाल सरकारी निकायहरूले कार्यालयपिच्छे निजी क्षेत्रको परामर्श सेवामार्फत वेबसाइट डिजाइन गर्ने गरेका छन् । यसरी कुनै निश्चित प्राविधिक तथा अन्य मापदण्डको पालना नगरी बाह्य श्रोतको परामर्श सेवा लिएर वेबसाइट बनाउँदा त्यसको गुणस्तरीयता तथा सुरक्षामा समेत समस्या देखिने क्रम बढेपछि प्रधानमन्त्री कार्यालयले चासो लिएको थियो ।

प्रतिक्रिया दिनुहोस