पूर्वराजा ज्ञानेन्द्र शाहको चेतावनी : अप्ठेरोमा देश छाडेर गएनौँ, अब मौन रहन सक्दैनौं

सफल खबर संवाददाता

आइतबार, ०७ फागुन २०७९, ०९ : ३५
पूर्वराजा ज्ञानेन्द्र शाहको चेतावनी : अप्ठेरोमा देश छाडेर गएनौँ, अब मौन रहन सक्दैनौं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल एकीकरणको झन्डै २४० वर्षपछि आफूहरुले शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएको भए पनि अहिले नेपाल विग्रहको चपेटामा फसेको बताएका छन् । उनले ७३औं प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा यस्तो बताएका छन् ।

“नेपाल एकीकरणको झन्डै २४० वर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौं,” उनले भनेका छन्, “विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमुलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको छ ।”

उनले आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस आवश्यक भएको बताएका छन् । “देश र जनताभन्दा दलगत, पारिवारिक, व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका नेताहरु फसेका छन् । तिनका धेरै कार्यक्रममा राजनीति छत्रछायाँ नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ,” शाहले भनेका छन् । उनले नेपालको निरन्तर अधोगति प्रति अब मौन रहन नसक्ने बताएका छन् । 

“शोककूल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं । यी यावत वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोेकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको विलम्ब गर्नुहुँदैन ।”