काठमाडौ । नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।
शुक्रबार बसेको एमाले प्रदेश कमिटीको बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकाल्न केन्द्रसँग अनुरोध गरेको हो।
एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गरेका थिए। कार्यक्रममा पूर्वराजा शाह पुग्दा सहभागीहरूले जयजयकार गरेका थिए। कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए।
त्यसयता प्रसाईं विवादमा परेका हुन्। एमाले प्रदेश १ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले भने, ‘उहाँ (दुर्गा प्रसाईं) पछिल्लो समय पार्टीको नीति र सिद्धान्तविपरीत, संविधानविरोधी र राजतन्त्रको वकालतमा प्रस्तुत हुन थालेपछि कारबाही सहितको राय केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ।’
उनले एमालेमा बसेर राजतन्त्रको वकालत गर्नु कसैलाई छुट नभएको बताए। त्यसैगरी बैठकले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ।
एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकका अनुसार प्रदेश कमिटीको जिम्मेवारीमा रहेर ५ पटकसम्म बैठकमा अनुपस्थित भएकाहरूलाई पार्टीबाट हटाउने निर्णय गरेको हो।
बैठकमा उपस्थित नभएका र प्रदेश कमिटीको कुनै पनि गतिविधिमा संलग्न नभएका ८१ जनालाई जिम्मेवारीबाट हटाइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ फागुन २०७९, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
दुर्गा प्रसाईँ पाँच दिन हिरासतमा रहने
फेरि पक्राउ परे दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई पक्राउ गर्न उनको निवासमा पुग्यो प्रहरी
‘राजपरिवारका सदस्यहरू स्वयम् सडकमा उत्रिने तयारीमा छन्’ : दुर्गा प्रसाईं