मनाङका विद्यालय खुल्न थाले

रासस

विहीबार, ०४ फागुन २०७९, १२ : ५१
मनाङका विद्यालय खुल्न थाले

मनाङ । हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् ।  मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले जानकारी दिए । उनका अनुसार केही विद्यालयका विद्यार्थी तथा शिक्षक मङ्सिरको अन्तिम साता अर्धवार्षिक परीक्षा सकेर चिसो छल्न बेँसी झरेका थिए ।

यस वर्ष हिमपात नहुँदा विद्यालय अलि छिट्टै सञ्चालन गरिएको उनले बताए । “यस वर्ष यहाँ हिमपात भएन, जसले गर्दा मनाङवासी छिट्टै फर्किए र अभिभावकसँगै बालबालिका आएपछि नियमित कक्षा सञ्चालन गरेका हौँ”, प्रमुख चपाईंले भने। 

विगतका वर्षमा जिल्लामा मङ्सिरमा वार्षिक परीक्षा सकेर हिउँदमा चिसो छल्न बेँसी झर्ने प्रचलन थियो । गत वर्षदेखि अन्य जिल्लासँग पठनपाठनको समानताका लागि चैतमा वार्षिक परीक्षा गर्न थालिएको उनले बताए । 

 पुस र माघमा यहाँ बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द गर्नुपर्ने बाध्यता नै छ । फागुन १ गतेदेखि सदरमुकाम चामे र नासों गाउँपालिकाका विद्यालयमा नियमित पढाइ सञ्चालन भएको चपाईंले बताए । उजका अनुसार जिल्लास्थित कार्यालयले विद्यालय खोल्न सूचना प्रकाशित गरे पनि अधिकांश विद्यालय फागुन १ गतेदेखि नियमितरुपमा सञ्चालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस