युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

एजेन्सी

विहीबार, ०४ फागुन २०७९, १२ : ११
युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ ।

मस्कोको महत्वपूर्ण सहयोगी रहेको र करिब एक वर्षअघि युक्रेनमाथि भएको आक्रमणको निन्दा नगरेको बेइजिङले रूसलाई वार्ताको टेबलमा फर्कन दबाब दिनेछ भन्ने विश्वास आफूलाई रहेको म्याक्रोँले बताएका छन् ।

बुधबार पेरिसमा म्याक्रोँ र वाङले युद्ध र यसले अति जोखिममा रहेका मुलुकहरूमा पार्ने विशेषगरी खाद्य सुरक्षा र वित्तीय क्षमताका बारेमा असरबारेमा छलफल गरेका थिए । उनीहरूले ‘अन्तर्राष्ट्रिय कानूनअनुसार शान्तिका लागि योगदान गर्ने एउटै उद्देश्य’ व्यक्त गर्नुभएको एलिसी प्यालेसले जनाएको छ ।  फ्रान्स भ्रमणपछि वाङले शुक्रबारदेखि आइतबारसम्म हुने म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुँदै आफ्नो भ्रमणलाई निरन्तरता दिनेछन् । उनले मस्कोको पनि भ्रमण गर्नेछन् । फ्रान्सेली राष्ट्रपतिले जलवायु सङ्कटलगायत ‘विश्वव्यापी चुनौती’को सामना गर्न चीनसँग सहकार्य गर्ने बताए ।