साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, ०२ फागुन २०७९, १९ : ५२
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताएका छन्।

आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले साना तथा घरेलु उद्योगका लागि सहजरुपमा कर्जा पाउने र त्यस्ता उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धनका लागि सरकारले केही महत्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको बताए।

“सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवद्र्धन र संरक्षण गर्न आवश्यक छ । त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ”, प्रधानमन्त्री दाहालले भने। केही दशकअघि नेपालले कृषिउपज र खाद्य वस्तु निर्यात गर्ने गरेको बताउँँदै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्ने बताए। “हामी पाँच दशक अघि खाद्यान्न निर्यात गथ्र्यौँ । नेपालमा कृषिमा आधारित उद्योग बढी फस्टाउन सक्ने देखिएको छ । मौलिक उत्पादनलाई बजारीकरणका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बेला आएको छ”, उनले भने।

लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत पहल गरेको पनि दाहालले बताए। त्यस्तै यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनरतालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस