एभर्टनलाई हराउँदै लिभरपुल नवौं स्थानमा

एजेन्सी

मंगलबार, ०२ फागुन २०७९, ०८ : ३९
एभर्टनलाई हराउँदै लिभरपुल नवौं स्थानमा

एजेन्सी  । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले एभर्टनमाथि सहज जित निकालेको छ।

एनफिल्डमा गएराति भएको मर्सिसाइड डर्बीमा योगर्न क्लोपको टोलीले पाहुना टोली एभर्टनमाथि २-० को जित निकाल्यो । लिभरपुलको जितमा मोहम्मद सल्लाह र कोडी गाक्पोले गोल गरे।

खेलको ३६ औं मिनेटमा डार्विन नुनियेजको पासमा मोहम्मद सल्लाहले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाए।दोस्रो हाफ सुरु भएको चार मिनेटमै लिभरपुलले अग्रता दोब्बर बनायो। हालै मात्र ४५ मिलियन पाउन्डमा एन्फिल्ड आएका कोडी गाक्पोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। 

सिन डायचको नेतृत्वमा शीर्ष स्थानको आर्सनललाई हराएको एभर्टनले लिभरपुलविरुद्ध कमजोर प्रदर्शन गर्‍यो। यो पराजयपछि एभर्टनले रेलिगेसन जोनबाट माथि उक्लने मौका गुमाएको छ। १८ औं स्थानमा रहेको एभर्टनको २२ खेलबाट १८ अंक छ।

यता जितपछि ३२ अंक जोडेको लिभपरपुल नवौं स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको आर्सनलको २१ खेलबाट ५० अंक हुँदा एक खेल बढी खेलेको म्यान्चेष्टर सिटीको ४८ अंकसहित दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस