इंग्लिस प्रिमियर लिग : सिटीको जितसँगै उपाधि होड रोमाञ्चक

एजेन्सी

सोमबार, ०१ फागुन २०७९, ०९ : १२
इंग्लिस प्रिमियर लिग : सिटीको जितसँगै उपाधि होड रोमाञ्चक

एजेन्सी । पहिलो हाफको तीन गोलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानको आर्सनलसँगको अङ्क दुरी ३ अङ्कमा झारेको छ।

सिटीको जितसँगै उपाधि होड रोमाञ्चक बनेको छ। यसअघि आइतबारनै भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई २-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको थियो। तर अर्को खेलमा भिल्लालाई हराएसँगै पुन सिटी दोस्रो स्थानमा उक्लिएको छ।

उत्कृष्ठ लयमा देखिएको सिटीले रोड्रिको गोलमार्फत चौंथो मिनेटमानै अग्रता बनाएको थियो। रियाद महारेजको कर्नरमा रोड्रिले आकर्षक हेड गरेका थिए। टिमका लागि दोस्रो गोल इल्के गुन्डोगानले ३९ औ मिनेटमा गरेका थिए। उनले हालान्डको आकर्षक क्रसलाइ सहज गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा महारेजले अग्रता ३-० मा पुर्याएका थिए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।

दोस्रो हाफमा एस्टन भिल्ला खेलमा फर्कने प्रयास गरेको थियो। वाटकिन्सले ६१ औ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर त्यसपछि दुबै तर्फबाट थप गोल हुन नसक्दा सिटीले खेल ३-१ ले आफ्नो पक्षमा पार्यो।

जितपछि सिटीको २२ खेलबाट ४८ अङ्क भएको छ। एक खेल कम खेलेको शीर्ष स्थानको आर्सनलको ५१ अङ्क रहेको छ। २३ खेलबाट युनाइटेड ४६ अङ्क रहँदा चौंथो स्थानको न्युक्यासलको ४१ अङ्क रहेको छ।