विवाह बन्धनमा बाँधिए निहारिका र शिवराज

सफल खबर संवाददाता

शुक्रबार, २७ माघ २०७९, १४ : ४३
विवाह बन्धनमा बाँधिए निहारिका र शिवराज

काठमाडौँ । निहारिका राजपूत र शिवराज श्रेष्ठ अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह गरेका हुन् । उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् ।

आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर निहारिका उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी थिइन् । तर गत माघ १६ गते उनले धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै मिलापत्र गरेकी थिइन् ।

आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । तर धनुषा जिल्ला अदालतले शिवराज र सोनालीबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।

धनुषा जिल्ला अदालतले शिवराजलाई बलात्कारको कसुरमा सफाइ दिएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । सोही समयमा उनले आन्दोलनसमेत गरेर बलात्कारीलाई सजाय दिन माग गरेकी थिइन् । तर गत माघ १५ गते निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठविरुद्ध अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस