हारबाट जोगियो म्यानचेस्टर युनाइटेड

सफल खबर संवाददाता

विहीबार, २६ माघ २०७९, ०७ : १८
हारबाट जोगियो म्यानचेस्टर युनाइटेड

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लिड्ससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। 

घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेड हारबाट जोगियो।युनाइटेटका लागि मार्कस र्‍यासफर्ड र जेडोन सान्चोले गोल गरे।

खेल सुरू भएको पहिलो मिनेटमै विलफ्रिड यन्तोले गोल गर्दै लिड्सलाई सुरूआती अग्रता दिलाए। सम्हालिन नपाएको युनाइटेड पहिलो हाफसम्म १-० ले पछि रह्यो।

पहिलो हाफमा पछि परेको युनाइटेडको सुरुवात ब्रेकपछि पनि सुखद रहेन। ४९ औं मिनेटमा लिड्सले आत्मघाती गोलमार्फत अग्रता दोब्बर बनायो। युनाइटेडका रफायल भरानेले आफ्नै पोस्टमा गोल गरेका थिए। तर बाँकी समयमा युनाइटेडले पुनरागमन गर्‍यो ।

६२ औं मिनेटमा मार्कस र्‍यासफर्डले गोल गर्दै खेलमा फर्कने संकेत दिए। त्यसको ८ मिनेटपछि सान्चोले गोल गर्दै  युनाइटेडलाई हारबाट जोगाए।

गत अक्टोबर यता प्रिमियर लिगमा सान्चोको यो पहिलो गोल हो। लिड्सले सन् १९८१ यता ओल्ड ट्राफोर्डमा जित हात पार्न सकेको छैन।

यो खेल अघि लिड्सले युनाइटेसँग फराकिलो अन्तरको हार व्यहोर्ने अनुमान समर्थकले लगाएका थिए। तर रेलिगेसनको खतरामा रहेको लिड्सले युनाइटेडलाई कडा चुनौती दियो।

गत सोमबार मात्र लिड्सले प्रशिक्षक जेसी मार्शलाई बर्खास्त गरेको थियो। १६ औं स्थानमा उक्लिएको लिड्सको २१ खेलबाट १९ अंक छ। २२ खेलबाट ४३ अंक जोड्दै युनाइटेड तेस्रो स्थानमा छ। 

प्रतिक्रिया दिनुहोस