चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सेवा–सुविधा थप हुने

सफल खबर संवाददाता

बुधबार, २५ माघ २०७९, १३ : २१
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सेवा–सुविधा थप हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको थप सेवासुविधाका लागि छुट्टै कार्यविधि बनाउने भएको छ । मन्त्रालयले तयार पारेको कार्ययोजना चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको सेवासुविधाका लागि छुट्टै कार्यविधि बनाउने उल्लेख छ ।

मन्त्रालयले तयार पारेको न्युतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा सो कार्यविधि बनाएर अर्थ मन्त्रालयमा पेश गर्ने र २०८० वैशाखबाट कार्यविधि लागु हुने उल्लेख छ ।

न्यूनतम साझा कार्यक्रममा चिकित्सक, नर्सलाई सरकारी सेवामा आकर्षित गर्न विद्यमान सेवा सुविधा पुनरावलोकन गर्ने र साप्ताहिक ४० घण्टाभन्दा बढी अवधि सेवा गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त सुविधा प्रदान गर्ने कार्यक्रममा उल्लेख छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको सेपा सुविधामा पुनरावलोकन गरी थप सेवा सुविधाको व्वयस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पेश गर्ने उल्लेख छ ।

सोही साझा कार्यक्रमलाई आधार बनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छुट्टै कार्यविधि तयार हुनेछ । त्यसैगरी, मेक इन नेपाल मर्म अनुरुप नेपालमै औषधि उत्पादनको विषय राखिएको छ । जसअन्तर्गत आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधिहरू स्वदेशमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडको क्षमता अभिवृद्धि गर्ने योजना छ । यस्तै, पूर्वाधार सहितको औजार उपकरणको व्यवस्था गरी कम्तीमा थप ५ प्रकारका औषधि उत्पादन सुरू गर्ने कार्यविधिमा उल्लेख छ ।