भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

सफल खबर संवाददाता

मंगलबार, २४ माघ २०७९, २१ : ००
भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । भारतलाई पराजित गर्दै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशकाे ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

निर्णायक खेलमा १-० गोलले पछि परेको अवस्था उल्टाउँदै नेपालले पुनरागमन जित निकालेकाे हाे । नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले गोल गरिन् ।

खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याईन् ।

खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाईन् । त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाईन् ।

जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ। 

प्रतिक्रिया दिनुहोस