यती एयरको विमान दुर्घटनाको प्रारम्भिक तथ्य फेला

सफल खबर संवाददाता

सोमबार, २३ माघ २०७९, २१ : १६
यती एयरको विमान दुर्घटनाको प्रारम्भिक तथ्य फेला

काठमाडौं । पोखराको सेती खोँचमा यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक चरणको तथ्य पत्ता लागेको छ । दुर्घटना जाँच आयोगद्वारा सोमबार जारी विज्ञप्तिअनुसार फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसन्धान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको छ ।

दुबै इन्जिनका प्रोपेलर ब्लेड फेदर हुनुको मतलब जहाज निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्री (सिधा) हुनु हो । सिंगापुरको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोले उक्त तथ्य फेला पारेको हो ।

गत साता फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसनधान गरिएको थियो । अनुसन्धानमा दुबै इन्जिनमा रहेका प्रोपेलर ब्लेड फेदर भएको देखिएको हो ।

एटीआर–७२ विमानको एउटा इन्जिनमा ६ र अर्को इन्जिनमा ६ वटा प्रोपेलर (ब्लेड) गरि जम्मा १२ वटा हुन्छन् । पाइलटले जहाज उडान भर्दा प्रोपेलरको ब्लेडको ककपिटमा रहने लिभरको सहायताले आवश्यकता अनुसार छड्के बनाउन सक्छन् ।

तर, इन्जिनमा प्रोपेलर ब्लेड हुँदा जहाजमा अत्यधिक घर्षण उत्पन्न हुने र जहाजलाई अगाडि हुत्याउने सामार्थ्य इन्जिनमा हुँदैन । उक्त अवस्थामा जहाज सजिलै धावनमार्गमा अवतरण गर्न नसकि आकाशबाट कुनै गह्रौं वस्तु खसे जसरी भुइँमा बज्रने पुग्छ । पोखरामा यतीको एटीआर विमान पनि त्यसरी नै दुर्घटनामा परेको आयोगले जनाएको छ ।

अहिले उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा कसरी गयो भन्नेबारे आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान गरिरको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस